यक्ष र युधिष्ठिरबिचको संवाद

 

यक्ष र युधिष्ठिरबिचको संवाद ।

(लामो भए पनि रोचक छ । पढ्नु होला, पछुतो हुँदैन)

यक्ष – जीवनको उद्देश्य के हो ?

युधिष्ठिर – जीवनको उद्देश्य जीवमा भएको चेतन तत्त्वलाई जान्नु हो र जीवन/मरणको चक्रबाट छुटकारा पाउनु हो । जीवन/मरणको चक्रबाट छुटकारा पाउनु नै मोक्ष हो ।

यक्ष– जन्मको कारण के हो ?

युधिष्ठिर – अतृप्त वासना, कामना र कर्मफल नै जन्मको कारण हो ।

यक्ष– जन्म र मरणको बन्धनबाट को मुक्त छ ?

युधिष्ठिर – जसले स्वयंलाई अर्थात् त्यस आत्मालाई जान्यो त्यो जन्म/मरणको बन्धनबाट मुक्त छ ।

यक्ष– वासना र जन्मबिच के सम्बन्ध छ ?

युधिष्ठिर – जस्तो वासना त्यस्तै जन्म । यदि वासना पशुजस्तो छ भने पशु योनीमा जन्म । यदि वासना मनुष्यजस्तो छ भने मनुष्य योनीमा जन्म ।

यक्ष– संसारमा दुःख किन छ ?

युधिष्ठिर – लालच, स्वार्थ, भय संसारको दुःखको कारण हो ।

यक्ष–त्यसो भए ईश्वरले दुःखको रचना किन गरे ?

युधिष्ठिर – ईश्वरले संसारको रचना गरे भने मनुष्यले आफ्नो विचार र कर्मले दुःख/सुखको रचना गरे ।

यक्ष– ईश्वर के हो ? उसको रूप कस्तो छ ? ऊ स्त्री हो कि पुरुष?

युधिष्ठिर – हे यक्ष! कारणबिना कार्य हुन सक्तैन । यो संसार (कारण) नै ईश्वरको अस्तित्व (कार्य) को प्रमाण हो । तिमी छौ त्यसैले उनी पनि छन् | त्यस महान् कारणलाई नै अध्यात्ममा ईश्वर भनिन्छ । उनी न स्त्री हुन न पुरुष ।

यक्ष– उसको स्वरूप कस्तो छ ?

युधिष्ठिर – ईश्वरको स्वरूप सत् (अनादि,कहिल्यै नाश नहुने) -चित् (पुर्ण ज्ञान भएको) - आनन्द छ, ऊ निराकार नै सबै रूपमा आफूले आफूलाई नै व्यक्त गर्दछ |

यक्ष– निराकार ईश्वरले स्वयं के गर्दछ ?

युधिष्ठिर – ईश्वरले संसारको रचना, पालन र संहार गर्दछ ।

यक्ष– यदि ईश्वरले संसारको रचना गरे भने स्वयं ईश्वरको रचना कसले गऱ्यो ?

युधिष्ठिर – ईश्वर अजन्मा अमृत र अकारण हुनुहुन्छ |

यक्ष– भाग्य भनेको के हो ?

युधिष्ठिर – हरेक क्रिया, हरेक कार्यको एक परिणाम हुन्छ । परिणाम राम्रो पनि हुनसक्छ, नराम्रो पनि हुनसक्छ । यो परिणाम नै भाग्य हो । आजको प्रयत्न भोलिको भाग्य हो ।

यक्ष– सुख र शान्तिको रहस्य के हो ?

युधिष्ठिर – सत्य, सदाचार, प्रेम र क्षमा सुखको कारण हो । असत्य, अनाचार, घृणा र क्रोधको त्याग नै शान्तिको मार्ग हो ।

यक्ष– चित्तमाथि नियन्त्रण कसरी सम्भव छ ?

युधिष्ठिर – इच्छा, कामना चित्तमा उद्वेग उत्पन्न गर्दछ, इच्छामाथिको विजय नै चित्तमाथिको पनि विजय हो ।

यक्ष– सच्चा प्रेम भनेको के हो?

युधिष्ठिर – स्वयंलाई सबैमा देख्नु नै सच्चा प्रेम हो । स्वयंलाई सर्वव्यापी देख्नु नै सच्चा प्रेम हो । स्वयंलाई सबैको साथमा एक देख्नु नै सच्चा प्रेम हो ।

यक्ष– त्यसो भए मनुष्यले सबैसँग प्रेम किन गर्दैन?

युधिष्ठिर – जसले स्वयंलाई सबैमा देख्तैन त्यसले सबैसँग प्रेम गर्न सक्तैन |

यक्ष– आशक्ति भनेको के हो ?

युधिष्ठिर – प्रेममा हुने माग, अपेक्षा, अधिकार नै आशक्ति हो ।

यक्ष– बुद्धिमान् को हो?

युधिष्ठिर – जोसँग विवेक(सही र गलत छुत्याउन सक्नु) छ त्यो नै बुद्धिमान् हो ।

यक्ष– नशा भनेको के हो?

युधिष्ठिर – आशक्ति नै नशा हो ।

यक्ष– चोर को हो ?

युधिष्ठिर – इन्द्रियको आकर्षण, जो इन्द्रियलाई हर लिन्छन् त्यही नै चोर हो ।

यक्ष– जागा रहेर पनि सुतेका को को हुन् ?

युधिष्ठिर – जो आत्मालाई जान्दैनन्, तिनीहरू नै जागा भएर पनि सुतेसरह हुन् ।

यक्ष– कमलको पातमा रहेको जलजस्तै अस्थायी के हो ?

युधिष्ठिर – यौवन, धन र जीवन ।

यक्ष– नरक भनेको के हो ?

युधिष्ठिर – इन्द्रियको दासता नै नरक हो ।

यक्ष– मुक्ति भनेको के हो ?

युधिष्ठिर – अनाशक्ति नै मुक्ति हो ।

यक्ष– दुर्भाग्यको कारण के हो?

युधिष्ठिर – मद र अहङ्कार ।

यक्ष– सौभाग्यको कारण के हो?

युधिष्ठिर – सत्सङ्ग र सबैप्रति मित्रभाव नै सौभाग्यको कारण हो ।

यक्ष– सबै दुःखको नाश कसले गर्न सक्छ?

युधिष्ठिर – जो सब छोड्न तैयार छ उसैले सबै दुःखको नाश गर्न सक्छ ।

यक्ष– मृत्युपर्यन्त यातना कसले दिन्छ?

युधिष्ठिर – गुप्तरूपले गरिएको अपराधले ।

यक्ष– दिन र रात कुन कुराको विचार गर्नुपर्दछ?

युधिष्ठिर – सांसारिक सुखको क्षण-भङ्गुरताको विषयमा ।

यक्ष– संसारलाई कसले जित्छ?

युधिष्ठिर – जसमा सत्य र श्रद्धा हुन्छ ।

यक्ष– भयबाट मुक्ति कसरी सम्भव छ?

युधिष्ठिर – वैराग्यबाट ।

यक्ष– मुक्त के भनेको हो?

युधिष्ठिर – जुन अज्ञानबाट पर छ ।

यक्ष– अज्ञान भनेको के हो ?

युधिष्ठिर – आत्मज्ञानको अभाव नै अज्ञान हो ।

यक्ष– दुःखबाट मुक्त को छन् ?

युधिष्ठिर – जो कहिले पनि क्रोध गर्दैन् ।

यक्ष– त्यो के हो जुन अस्तित्वमा छ पनि छैन पनि ?

युधिष्ठिर – माया ।

यक्ष– माया भनेको के हो ?

युधिष्ठिर – नाम र रूपधारी नाशवान् जगत् नै माया हो ।

यक्ष– मनुष्यको साथ कसले दिन्छ?

युधिष्ठिर– धैर्यले नै मनुष्यको साथ दिन्छ|

यक्ष– यशलाभको एकमात्र उपाय के हो?

युधिष्ठिर – दान ।

यक्ष– हावाभन्दा छिटो के चल्दछ?

युधिष्ठिर – मन ।

यक्ष– विदेश जानेवालाको साथी को हो ?

युधिष्ठिर – विद्या ।

यक्ष– के त्याग गरेर मनुष्य सबैको प्रिय हुन जान्छन्?

युधिष्ठिर – अहम् भावबाट उत्पन्न गर्वको त्यागबाट नै मनुष्य सबैको प्रिय हुन जान्छ |

यक्ष– कुन चिज हराउनाले दुःख हुदैन?

युधिष्ठिर – क्रोध ।

यक्ष– कुन चिज हराउनाले मनुष्य धनी बन्छन्?

युधिष्ठिर – लोभ ।

यक्ष– ब्राह्मण हुन कुन कुरामा निर्भर गर्दछ? जन्म, विद्या, या शीतल स्वभावमा ?

युधिष्ठिर – शीतल स्वभाव ।

यक्ष– कुन एकमात्र उपाय छ जसले जीवन सुखी हुन जान्छ ?

युधिष्ठिर – राम्रो स्वभाव नै सुखी हुने उपाए हो |

यक्ष– सर्वोत्तम लाभ के हो ?

युधिष्ठिर – आरोग्य ।

यक्ष– धर्मभन्दा ठुलो संसारमा अरू के हो ?

युधिष्ठिर – दया ।

यक्ष–कस्ता व्यक्तिहरूसँग गरिएको मित्रता कहिल्यै पनि पुरानो हुँदैन?

युधिष्ठिर – सज्जनसँग गरिएको मित्रता कहिल्यै पनि पुरानो हुँदैन |

यक्ष– यस जगत्‌मा सबैभन्दा ठूलो आश्चर्य के हो ?

युधिष्ठिर – हरेक दिन हजारौँ मानिस मर्छन् तैपनि सबै सोच्छन् कि म त अझै धेरै बाँच्छु | यो बुझ्दैन कि त्यो मरेको लासले पनि म अझै केही बाँच्छु भनेर नै सोचेको थियो, यो भन्दा ठूलो आश्चर्य अरू के हुन सक्ला !

यो संवाद पवित्र ग्रन्थ महाभारतको वन पर्वमा छ ।


Source ??

Comments

Popular posts from this blog

शिक्षक आन्दोलन २०८१/८२

Books

Leave बिदा