बिदाको सदुपयोग
अभिभावकज्यूहरु ,
सादर नमस्कार !
विशेषतः कक्षा नौ सम्म अध्ययनरत हजुरका नानी बाबुहरुको वार्षिक परीक्षा सकिने क्रममा छ | यस पछि उनिहरुलाई कम्तीमा १० दिन जतिको छुट्टि हुदैछ | र यो समयलाई निम्नानुसार सदुपयोग गर्ने वातावरण मिलाइदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु |
- कम्तीमा आफूले खाएका थाल कचौराहरु उनैलाई माझ्न लगाउनु होला | लुगा धुन लगाउनु होला |
- बोट विरुवामा बिहान बेलुका पानी हाल्न लगाउनु होला |
- बिहान / बेलुका आफूसङै आफ्नो खेतबारी तिर डुलाउन लैजानु होला | खेतीपाती देखाउनु होला |
- कुनै दिनमा कुलोको मुहान , नजिकैको पाखो पखेरो , बुट्ट्यान वा झाडी अनि त्यहा बस्ने चराचुरुङ्गी आदि इत्यादी देखाउनु होला |
- चार छ दिन आफन्तकोमा भेटघाट र चिनजान गराउन लैजानु होला वा पठाउनु होला |
- चाडबाड , जात्रा वा पर्वहरुमा पठाउनु होला | पर्वको महत्व सम्झाउदै नववर्षको दिन एकाबिहानै माई स्नान गर्न लैजानु होला |
- गाँउ तिर पाइने काफल , बयेर , अ्मिली ( इमली ), यसै गरि जामुन , केमुनो , खनियो , इसबगोल , काली गेडी , चर अ्मिलो , निमपत्ता , बडहर , सिमल लगायतका फलफूलहरु चिनाउनु होला , खान दिनुहोला | ( खालि बजारिया स्याउ , सुन्तला , केरा तिर बल नगराउनु होला )
- कम्तीमा दुइचार छाक आटो , पिठो , ढिडो , उसिनेको , पोलेको र भुटेको खानेकुराहरु बनाएर खुवाउनु होला | ( बोइलरको मासु र भात तिर बल नगर्नु होला )
- सकेसम्म मोबाइलमा झुण्डिन नदिनु होला | मोबाइलमा के कस्ता एपहरु चलाएका छन , ती कुरा चेक गर्नु होला | र टि भी का राम्रा कार्यक्रमहरु हेर्न लगाउनु होला तर अनावश्यक सिरियल हेर्नबाट रोक्नुहोला |
- केही राम्रा कथाका किताबहरु पढ्न लगाउनुहोला |
- कुनै घरपालुवा जनावरको स्याहार सुसार गर्न लगाउनुहोला |
- आठ , नौ र दशमा पढ्नेले म फलानो देश जाने हो भन्ने मानसिकता बोकेका छन , यो नै हाम्रो लागि दूर्भाग्य हो | यो मानसिकता लाई रोक्न जरुरी छ |
- महङ्गा चिजबिज नकिनिदिनु होला |
- हाम्रा धेरैजसो सन्तानहरु हामीले सोचेको भन्दा बढी अराजक भएका छन , यस्को कारण हामी नै हो भन्ने कुरा आत्मसात गर्दै दुख , अभाव र पिडा के हो भन्ने कुराको ज्ञान दिनुहोला |
- सकेसम्म घरभित्र भन्दा घर बाहिर खेल्ने , डुल्ने , घुम्ने र सानोतिनो काम गर्ने अवस्था सृजना गरिदिनु होला |
धन्यवाद |
(साभार: सामाजिक संजाल)
Comments
Post a Comment